बाल श्रम अन्त्यका तत्काल काम गर्न आवश्यक छः ग्लोबल प्यानल

admin

काठमाडौं । बालश्रम अन्त्यका लागि तत्काल काम गर्न ग्लोबल प्यानलले आह्वान गरेको छ । विश्व सामाजिक मञ्च २०२४ को अवसरमा काठमाडौंमा आयोजना भएको प्यानलले यस्तो आव्हान गरेको हो ।

बालश्रम अन्त्यका लागि काम गर्ने ग्लोबल प्यानलले विश्वव्यापी बाल श्रमले उत्पन्न भएका बहुआयामिक चुनौतीहरूलाई सम्बोधन गर्ने उद्देश्यले विश्व सामाजिक मञ्च २०२४ को अवसरमा सीएसओज फोरम अन एसटिजी ८.७ नेटवर्कले अधिकारकर्मी र सरोकारवालासँग छलफल कार्यक्रमको आयोजना गरेको थियो ।

उक्त छलफल कार्यक्रममा बोल्दै अधिकारकर्मी मिलन धरेलले विश्वभरि अहिले करिव १६ करोडको हाराहारीमा बालबालिका श्रममा रहेको तथ्यांक सार्वजनिक भएको बताउँदै अर्को विश्व सम्भव छ भनिरहँदा बालश्रम नभएको विश्वको परिकल्पना गरिएको बताए । उनले भने, विश्वको यति ठूलो जनसंख्या बालश्रममा रहेको तथ्य बाहिर आइरहँदा जनचेतनाको कमी, गरीबी र अभाव मात्रै बालश्रमको कारण हो भन्न सकिने अवस्था छैन । बालश्रम युद्ध र राजनीतिक विषयको रुपमा पनि रहेको देखिन्छ ।

नेपालमा बालश्रमको अवस्थाको बारेमा चर्चा गर्दै अधिकारकर्मी मनिराम आचार्यले यहाँ बालश्रम सामाजिक रुपमा स्वीकार गरिएको विषय भएको बताए । उनले भने, हाम्रो समाजले नै यहाँ बालश्रमलाई स्वीकार गरेको अवस्था छ । त्यसैले यसको रोकथामका लागि सही नितीको निर्माण र त्यसको प्रभावकारी कार्यन्वयन गर्नु आवश्यक छ ।

वयस्क श्रमिकहरूको सहभागिता नहुँदा बालश्रम बढ्दो क्रममा रहेको बताउँदै ट्रेड युनियनकर्मी स्मृती लामाले मर्यादित श्रममा बालश्रम रोक्न श्रोत मै काम गर्नु पर्ने बताइन । उनले बालश्रम गरिबीले मात्रै सिर्जित समस्या नभएको भन्दै अन्य कारणहरू पनि रहेकाले त्यसको पहिचान गरेर काम गर्नु पर्ने आवश्यकता रहेको बताइन ।

अधिकारकर्मी रञ्जना शर्माले बालश्रम एउटा क्षेत्रबाट अर्को क्षेत्रमा सरिरहेकोले यो लुकेको अवस्थामा गइरहेको बताइन । कार्यक्रममा उनले नेपालमा विद्यमान बालश्रमको अवस्थाको बारेमा गरिएको अध्ययन उपलब्धिका बारेमा जानकारी गराएकी थिइन ।

अधिकारकर्मी मनु नेपालीका अनुसार विश्वमा कस्तो खालको श्रमको क्षेत्रमा बालबालिकाहरू श्रमिकका रुपमा संलग्न रहेका छन् र कस्तो किसिमको अभ्यास छ र बालश्रमको क्षेत्र भइरहेका पहलहरूको म्यापिङ गरेर भविष्यमा बालश्रमका क्षेत्रमा कस्ता सहकार्य गर्न सकिन्छ भनेर ग्लोबल प्यानल अन चाइल्ड लेबर कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा नेपालका विभिन्न जिल्लाबाट आएका अधिकारकर्मी, सरोकारवाला, नागरिक समाज लगायत विदेशी संघ संस्थाका गरि २ सय भन्दा बढि सहभागीहरू थिए ।

नेपाल गुडविभ फाउण्डेशनका हेम मोक्तानका अनुसार नेटवर्कले श्रम मन्त्रालयसँग समन्वय गरेर काम गरिरहेको छ । बालश्रम, बाध्यकारी श्रम र मानव बेचविखनका सबालमा श्रम मन्त्रलायले गरेका कार्यक्रमहरूको आधारमा मुलुक भित्र कस्तो उपलब्धि भएको छ भनेर ग्लोबल रिर्पोट तयार गर्ने र सरोकारवाला निकायमा पठाउने काम गर्ने उनले बताए ।

ग्लोबल प्यानलले बाल श्रमको क्षेत्रमा विद्यमान चुनौतीलाई सम्बोधन गर्न, बाल अधिकारको रक्षा गर्न र बालश्रम शोषण रोक्न प्रभावकारी र शसक्त प्रयासहरूको तत्काल आवश्यकता रहेको औँल्याएको थियो । ग्लोबल प्यानलको छलफलमा बालश्रमको अन्त्य र बालअधिकारका सबालमा उठेका प्रश्न र प्राप्त भएका सुझावका आधारमा विभिन्न ८ बुँदे माग जारी गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *