केवल शाशन प्रणाली र शाशकहरु मात्र फेरिय ,जनताको अबस्था फेरिएन।

admin

अच्युत घिमिरे,काठमाडौँ

हाम्रो देश सानो छ , दुई डुङ्गा बीचको तरूल , राजनीति अस्थिरता कै कारण बिकास हुन सकिरहेको छैन भन्ने तथ्य केवल राज्यसत्तामा जाने नेपाली राजनीति र उच्चपदस्थ ब्यक्तीहरूको कथन मात्र हो । देश निर्माण दलले भन्दा पनि ब्यक्तीले गर्ने हो । माथीका कथन त केवल राज्य र राज्य बनावट माथि दोष धुपारेर राज्य दोहन गर्ने कला मात्र हो । आफुले केही नगर्ने दोष अरूलाई दिने हाम्रो राजनीति दलको प्रचलनबाट नै हामी र हाम्रो देश नेपाल गरिब भएको हो ।
विभिन्न कालखण्डमा राज्य संचालकहरूको हालिमुहाली र अग्रगामी सोचको कमीले हामीले दुख पाएका हौ । आफू र आफन्त मात्रको सिद्धान्त लादिएको छ। गरिबमुखी शासन प्रणाली , न्याय प्रणाली , आर्थिक प्रणाली र प्रशासन प्रणाली केवल कथनमा मात्र सिमित छ । बिदेशमुखी , माफियामुखी र शहरीमुखी सिद्धान्तले मात्र अवसर पाएका छन । ब्यक्तीवादी कु-बिचार कै कारण नेपाल समृद्ध हुनबाट बन्चित छ , यो यथार्थ हो । राज्यको हरेक तह तप्काका नेता र स्वयम् जनताहरू बिकास चाहान्छ तर प्रयत्नशील भएको कहीँ कतैबाट पाईदैन । हामी २००७ साल देखि आज सम्म पनि राज्यसत्ता परिवर्तन कै खेलमा रमिते भै रहेका छौ । हिजो राणाहरूलाई सामन्त र राज्यकोष दोहन गर्ने तानाशाह भनेर दोषारोपण गरि राज्यसत्ता कांग्रेसले आफ्नो हातमा लियो । खासै कांग्रेसले पनि केही गर्न सकेन र २०१७ सालमा राजा महेन्द्रले दलहरूबाट देश झन दलदलमा गयो भन्ने कथन व्यापक बनाई राज्यसत्तामा आफ्नो हात माथि पारे , अलि अलि विकास पनि गरे । सबै भन्दा प्रमुख पुर्ब पश्चिम राजमार्ग , भुमी सुधार , नयाँ शिक्षा र गाउँ फर्क अभियान यी सबै समय सापेक्ष माग थिए भन्ने लाग्दछ । राजा महेन्द्रको पन्चायत प्रणालीमा पनि दरबार र दरबारिया भाइ भारदार र मतियारहरूले मात्र शासन र शासकीय प्रणालीमा अवसर पाए । राष्ट्रका गरिब जनताहरूको हकमा खासै प्रगति भएन केवल माथीका कथनहरू वाचन भै रहे । शासन प्रणालीमा अलि अलि स्वाद चाखेको नेपाली कांग्रेसले एकतान्त्रिक राज्य शासन प्रणालीले देश र जनताको स्तर अगाडि बढाउन सक्दैन भन्ने अर्को कथनको रचना गर्यो र फलस्वरूप २०४६ सालमा दलिय ब्यवस्था कायम भयो र नेपाली कांग्रेसले बाजि मार्यो । नेपाली कांग्रेसको बाजीमा उदारीकरण नीतिको कथनमा सबै कलकारखाना निजीकरण गरियो र यो कथन सबैभन्दा उपलब्धि भनी गाउन बजाउन शुरू गरियो तर नयाँ उद्योग र नयाँ लगानी शुरू नै गरिएन । ब्यक्तिगत तथा बिदेशीहरूको फाइदाका निमित्त सरकारी उद्योग लिलाम गरियो । त्यस कालखण्डमा सडक , निजी शिक्षा , फोन , बिजुली सरकारको प्राथमिकतामा पर्यो तर शहर केन्द्रीकृत मात्र भयो । गफ व्यापक बनाईयो तर विकासले विकासको महशुस गर्न भने सकेन त्यसका कारण देश रोगी बन्दै गयो र युवाहरू पलायन हुने गन्तव्य उन्मुख भयो । केही समय पश्चात् ने क पा एमाले सरकारमा गयो र कांग्रेस शहर मुखी भयो , हामी गाउँ मुखी हुनेछौं भन्दै आफ्नो गाउँ आफै बनाऊ भन्ने कथन अगाडि सारी आफ्नो र आफ्ना कार्यक्रताको गाऊ मात्र बनाउने होड मात्र चल्यो बिचरा गाउँलेहरू कथन कै पछाडि भौतारि रहे । २०५२ सालमा अर्को भय सहितको कथन शुरु भयो। जनयुद्धको कथित कथनलाई अगाडि सारियो । शहरलाई साम्राज्यवाद र गाउँलाई सामन्तवाद भन्दै सोझा , अनपढ पिछडिएका पहाडी जनतालाई झुठो आश्वासनमा फसाई , राजनीति जन चेतनाको नाममा लुट मच्चाई पछि संसदीय खेलमा नै खेल्न पुग्यो र नम्बर एक संसदीय खेलाडी पनि भयो ।
यी सबै घटनाक्रमले केवल राज्य मात्र दोहन भयो र आज सम्म पनि हुदै छ। अब प्रश्न आउँछ के हामी नेपाली जनता केवल राज्यसत्ता परिवर्तन चटके खेलको दर्शक मात्र हो त ? खै आर्थिक विकासका कुरा ? खै सामाजिक न्यायका कुरा ? खै रोजगारीका कुरा ? यस्ता धेरै खै खै खै प्रश्नहरू नेपाली जनता माथि छन । तर विडम्बना नेपालमा जनता नै छैनन् छन त केवल राजनीति दलका कार्यकर्ता मात्र।

Leave a Reply

Your email address will not be published. Required fields are marked *