अच्युत घिमिरे
काठमाडौँ,
जब सम्म राजनीति नै विकासको एजेण्डा हो भन्ने सोच पलाई रहन्छ तब सम्म देश विकास हुदैन । विकास राजनीतिबाट भन्दा पनि एक ब्यक्तीबाट शुरू हुन्छ , राजनीतिले होइन देश विकास ब्यक्तीले गर्ने हो । राजनीति केवल विचार हो प्रविधि होइन , विकास प्राबिधिक हो । जुन ब्यक्ती संग राजनीति अभिभारा छ उ संग प्राविधिक ज्ञान हुन जरूरी छ । संसारमा यसको उदाहरण धेरै छन , जस्तैः दक्षिण कोरियाका सैनिक शासक पार्क चुन हि , सिंगापुरका लि क्वान , युगोस्लाभीयाका टिटो , मलेसियाका महाथिर आदि आदि । यिनीहरू राजनीतिलाई भन्दा पनि राष्ट्रलाई सर्वोपरि ठान्ने नेता थिए ।
हामी १०/१२ बर्षमा २० किलोमिटर बाटो बाट ४० किलोमिटर बाटो बनायौ भने विकासको ढोल बजाउछौ , एउटा सुरूङ्ग मार्ग ब्रेक थु भयो भने विकासको नारा दिन्छौ , एउटा सडक वृद्धि हुदैमा समग्र राष्ट्र विकास देख्ने परिपाटी नेपाली राजनीति दलहरूमा कायम छ । बाटो बढाउदा बाटो वृद्धि भने अवश्य हो तर समृद्धि होइन । यदि बाटो बनाउदैमा समृद्धि हुने हो भने राजा महेन्द्रले पुर्व पश्चिम राजमार्ग , पृथ्वी राजमार्ग , सिद्धार्थ राजमार्ग निमार्ण गरेका थिए । आफुले २० किलोमिटर बाटो बनाउदा विकास देख्ने तर अरूले जति नै गरेपनि विकास नदेख्ने अहिलेको राजनीति दलहरूको विकास प्रतिको कुनियत हो । विकासका निमित्त नेपाली समाजलाई केवल पुरातन सोचबाट हेरिनु हुदैन , विगत र वर्तमान बीचको विकास क्रमलाई समिक्षागत रूपमा हेरिनु पर्दछ , किनकि विकासको दृष्टिकोणमा विगतले वर्तमानलाई समेत प्रक्षेपण गर्दछ भन्ने सर्वमान्य विचार छ । यीनै कुराहरू लाई मध्यनजर गरि नेतृत्वदायी भुमिका खेल्न जरुरी छ ।
२०४६ सालमा देश विकास गर्छौ भनी प्रजातन्त्र ल्यायौ , ल्याए पश्चात् आज सम्म प्रजातन्त्र – प्रजातन्त्र भन्दै एक आपसमा लडि रहेका छौ । प्रजातन्त्र वा गणतन्त्र संसार कै सबैभन्दा सर्वश्रेष्ठ राजनीति परिपाटी हो तर हामीकहा केवल राज्यसत्ता हत्याउने खेल मात्र भैरहेको छ । नेपाली राजनीति दलहरूको राष्ट्र विकास प्रतिको नियति नै बाँडिचुँडी खाने मात्रै हो कि भन्ने कुराले प्रत्येक नेपाली जनतालाई सशंकित बनाएको छ।
राष्ट्र विकासको लागि जनता सार्वभौमसत्ता सम्पन्न हुनु मात्र नभै , योग्य , क्षमतावान र सक्षम नेतृत्व पनि हुन आवश्यक पर्दोरहेछ । हामीले नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न बनायौ मात्र भन्ने नेपाली राजनीति दलहरूमा सक्षम नेतृत्वको खडेरी छ । नेपाली राजनीति दलहरूका नेतृत्व बर्ग केवल ब्यक्तिगत स्वार्थमा , आफ्नो पारिवारिक स्वार्थमा मात्र लिप्त छन । ब्यक्तिगत स्वार्थका निमित्त सत्ता र शक्तिको बाँडफाँड हुने राजनीति विकृति परम्पराको प्रचलन छ , जसको कारण आज मुलुक राजनीति अस्थिरताको जालोमा फसिरहेको छ । यस्तो स्थिति रहदा रहदै पनि हामी राजनीति राजनीति राजनीति भनिरहेका छौ । राजनीति उच्च नेतृत्वमा रहेका २/४ जना नेतृत्व बर्गले आफ्नै लहडमा आफ्नै चुनाव क्षेत्रमा गरेका विकासलाई समग्र देशको विकास भएको भ्रम फैल्याउने कार्य मात्र भैरहेको छ । अब यी कुराहरू बाट हुदैन , अबको दिन समग्र स्थान र जनताको विकासको अवधारणा , समतामूलक अर्थनीति , उत्पादकत्व अभिवृद्धि , विकास प्रतिको सशक्तीकरण र दिगोपन हुन जरुरी छ । यी कुराहरूको निमित्त के के कुराहरूले समस्य उत्पन्न गरेका छन ती समस्याहरू वस्तुगत रूपमा बुझि त्यसको निराकरण गर्नु पर्ने अपरिहार्य भै सकेको छ। विकास लोकतन्त्रमा होस वा तानाशाहमा यसको कुनै सवाल हुदैन सवाल त केवल विकासको मात्र हुन्छ । विकासलाई केवल राजनीति संग मात्र जोड्ने परम्परागत सोचबाट हामी उठ्न जरुरी छ । नेतृत्व बर्गमा राष्ट्रहित भावना , राष्ट्र र जनताको प्रति उत्तरदायित्व र राष्ट्र विकास प्राविधिक सोच हुन जरुरी छ , जसरी सिंगापुर , मलेसिया , दक्षिण कोरिया , युगोस्लाभीयाका नेतृत्व बर्गमा सोच थियो ।