जीवन
हे दैव!
दर्दनाक दृश्य देख्नु अगि
यी आँखाहरू बन्द गरिदेऊ
चित्कार कसैको सुन्नु अघि
यी कानहरु टम्म टालिदेऊ न।
काँप्छ है मुटु,परेली भिज्छन् आँशुले
टेक्दैन गोडा हल न चल ,पछारिन्छ पिडाले
औँशीले जून पर्खेझै ,
अन्धकारले दिन कुरेझै
आसैआसाको त्यान्द्रोमा
अल्झिएको जीवन
हरेक विहानले उनेका सपना
भूईंमै लट्पटिएका छन्
बुनेका सपना मझेरीमा पुग्न नपाउँदै
सूर्यको किरण दैलोमा नपुग्दै
ग्रहण लागिरहेका छन्।
अर्थविहीन सपना साच्दै
परालको सुकुल तान्दै
लखतरान भै
यी दृष्टि विपनामै निदाएका छन्।
सांसारिक दुःख सुख अटाउन सक्ने
मनको यो सिंहासन
आज आफै गलेको छ।
च्यातिएका गाता ,नमेटिएका सम्झना
टालटुल गर्दैछ।
जीवन यस्तै छ!!
1