– अच्युत घिमिरे
काठमाडौँ,
संगीत संगीतको बारेमा लेख्ने दुस्साहस गरे किनकि मेरो मनमा संगीत तनमा संगीत तर मस्तिष्कमा सजाउन नसकेको संगीतको बारेमा लेख्दा सांगीतिक अपराध त हुदैन भन्ने डर छ । संगीतको परिभाषा तिर म जादिन तथापि संगीतको अर्थ स्वरहरू बीचको आपसी प्रेमात्मक सम्बन्ध हो , शुन्यता बीचको शुन्यता पनि हो। संगीतको सम्बन्ध मानव सभ्यता संग भन्दा पनि प्राकृतिक संरचना संग गाँसिएको हुन्छ र यहि प्राकृतिक ध्वनिले नै मानव सभ्यतामा संगीतको रूप धारणा गरेको हो भन्ने यश पंक्तिकारको ठम्याइ छ । संगीत आफैमा पूर्ण वाक्य हो । संगीत भित्रको कुनै पनि अक्षर विलीन हुदा अर्थ प्रस्ट्याउछ । सं हटाउदा गीत , गी हटाउदा संत र त हटाउदा संगी हुने गर्दछ । गीत संत र संगीको मिलन बिन्दु नै संगीत हो । संगीतको गरिमा र महत्त्वको सन्दर्भमा सामवेद , भरतमुनीको नाट्य शास्त्रले पनि प्रचुर व्याख्या गर्न सकेको देखिदैन र पनि पूर्विया दर्शनमा होस वा पश्चिमा दर्शनमा संगीतलाई मानव उपयोगी धुनको रूपमा धेरै व्याख्या गरेको पाइन्छ । मानव जीवनको निमित्त संगीतको महत्त्व सत प्रतिशत हुन्छ जसले शरीर मन मस्तिष्कलाई पुर्ण रूपमा केन्द्रीकृत गरि आयु ध्यानको निर्माण गर्दछ । आयु ध्यान योग संसारको सबैभन्दा उच्चकोटीको ध्यान मानिन्छ । यी कुराहरू लाई पुष्टि गर्ने एक अंग्रेजी भनाइ पनि समावेश गर्न उपयुुक्त ठानेको छु । music is medicine of the broken heart . संगीतको निम्ति वातावरण र शिक्षाको ठूलो महत्त्व हुन्छ । यसको गरिमा र महत्त्व अति नै हुदा हुदै पनि हाम्रो सामाजिक परिवेशमा स्थान भने कम छ । एक्काइसौं शताब्दीमा पनि संगीत प्रति हाम्रो अवधारणा संकुचित छ , यो अति नै दुखलाग्दो कुरा हो भने संगीतलाई संकुचित बनाउने अहम भुमिका स्वयम संगीत कर्मीहरू बाट पनि हुने गरेका छन यो लाजमर्दो कुरा हो । हाम्रोजस्तो अर्ध विकसित मुलुकमा संगीत जनसाधरणको दैनिकी संग खेल्न सक्नु पर्दछ । प्रत्येक मान्छेको जीवनमा घटिरहेको पीडा, व्यथा र खुशी भित्र रूमल्लिनु पर्दछ । एक संगीत कर्मीले संगीतको प्रत्येक धुन माथि न्याय गर्न सक्नु पर्दछ भने संगीत सम्मानको निमित्त उ जे गर्न पनि तयार हुनु पर्दछ भन्ने मेरो मान्यता हो । हो संगीतमा आधुनिकताको प्रयोग प्रचुर मात्रमा अपरिहार्य छ र यो समयको माग पनि हो तर पश्चिमी करण ( westrenise ) गर्दा संगीत भद्दा भै दिन्छ , नेपाली संगीत माथि एक मजाक भै दिन्छ । हामी र हाम्रो समाज पुर्बिया दर्शन आधारित चल्ने हुदा संगीत पनि त्यसै अनुरूप जान सकेको खण्डमा संगीत प्रतिको मोह भंग हुदैन । सांगीतिक दर्शन शास्त्र भित्र शब्द वर्णविन्यासको ठूलो भुमिका रहन्छ । धुनले शब्दलाई सुन्दर र सु-सज्जित बनाउने हो र सरलता तर्फ उन्मुख गराउने हो । जब धुनमा शब्द बिग्रिन्छ त्यो एक आत्माहिन संगीत बन्दछ , सामाजिक बिधवा जस्तैः । संगीतको धरातल र आकाश स्वास्थ हुन सकेको खण्डमा संगीतले प्राकृतिक वातावरण नै स्वास्थ बनाई दिन्छ भन्ने कुरालाई मनन गर्नु नै संगीत प्रतिको ईमादारीता हो । अस्तु